चितवन । पर्यटकीय सिजनसँगै हरेक अंग्रेजी तथा नेपाली नयाँ वर्षमा सौराहमा पर्यटकको भिड लाग्ने गर्दछ । देशभरको मौसम प्रतिकुल भएपनि यसपटक पनि नयाँ बर्ष मनाउनका लागि पर्यटकलाई केहीले छेकेन । सौराहामा आन्तरिक तथा बाह्य पर्यटक खचाखच थिए । म्युजिकल कार्यक्रमसँगै चिसो प्रवाह नगरी पर्यटकहरू सौराहमा झुमेका थिए ।
क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः ०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । तर सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिसमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । नयांँबर्षको अघिल्लो दिन सम्म ९० प्रतिशत भन्दा बढी कोठाहरू पर्यटकले भरिएको खनालले बताउनु भयो ।
उहाँले भन्नुभयो, “९० प्रतिशतभन्दा माथि कोठाहरू पर्यटकले भरिएका छन् ।” मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा शतप्रतिशत भरिभराउ हुन सक्दैन होला । ’
जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरूमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उहाँ बताउनुहुन्छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहेका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउनुभयो ।
नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उहाँले रातीसम्ममा सौराहाका अधिकांश होटल भरिएको बताउनु भयो । यो समयमा विदेशी भन्दा स्वदेशी पर्यटक धेरै आउने गर्दछन् ।
क्षेत्रीय होटल संघ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताउनुहुन्छ । अहिले ८० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको उहाँले बताउनु भयो । उहाँले भने, “नयाँ वर्षमा यहाँ खुला र होटलहरुले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन् ।”
उहाँ नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको बताउनुहुन्छ । आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् कि भन्ने डर भएको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उहाँले बताउनु भयो। जहाजका कारण आफ्ना पाहुना रोकिएको भन्दै उनले मौसमको चुनौतीका बाबजुद पर्यटक सौराहा आएको बताउनुभयो । गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उहाँको भनाइ छ ।
सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुराँमा पर्यटक आउने क्रम बढ्दो छ ।
साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने रेष्टुरेण्ट पब सबैजसो भरिएको थियो । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्दछन् । तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्दछन् ।

