चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला चरम सङ्कटमा परेको छ ।
व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादनमा करिब ४० प्रतिशत गिरावट छ । यही सङ्कटका बिच १३ औँ पोल्ट्री दिवस मनाउँदै छन् पोल्ट्री व्यवसायी । नेपालमा आधुनिक कुखुरापालन सुरु भएको पुस १७ गतेलाई विगत १२ वर्षदेखि राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ । २०१७ साल पुस १७ गते बाराको पर्वानीपुरमा तत्कालीन सरकारको पहलमा सेन्ट्रल ह्याचरीको औपचारिक उद्घाटन भएको थियो ।
विश्वव्यापी कोभिड सन्त्रासपछि लगातार धराशायी हुँदै आएको पोल्ट्री व्यवसायबाट यतिबेला सयौँ व्यवसायी पलायन भइसकेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेका अनुसार हप्ताको ४५ देखि ५० लाखको सङ्ख्यामा उत्पादन हुँदै आएका ब्रोइलर चल्लाको उत्पादन यतिबेला ३० लाखमा सीमित भएको छ । सातामा दुई लाखभन्दा बढी उत्पादन हुँदै आएका लेयर्स चल्लाको सङ्ख्या एक लाखदेखि एक लाख २० हजारमा सीमित हुन पुगेको छ ।
लगभग तीन सयमा रहेका ह्याचरीमध्ये दुई सयभन्दा बढी ह्याचरी बन्द भएका छन् । अन्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलले कुनै बखत दैनिक ६० लाख गोटा उत्पादन हुने गरेको अन्डा यतिबेला मुस्किलले ३७ लाख गोटा उत्पादन हुने गरेको जानकारी दिनुभयो । उहाँले बाहिर उपभोक्ताले अन्डाको मूल्य आकासिएको बताइराख्दा कृषकले आफ्नो लागत मूल्य पनि पाउन नसकिरहेको अवस्था रहेको बताउनुभयो ।
पछिल्लो समयमा दानाको कच्चा पदार्थमा आत्मनिर्भर बन्ने अवस्थानजिक रहेको बताउँदै दाना उद्योग सङ्घका अध्यक्ष उमेशचन्द्र सापकोटाले आगामी तीन वर्षमा नेपाल भटमासबाहेक दानाको कच्चा पदार्थमा समेत आत्मनिर्भर बन्ने अपेक्षा गर्नुभयो । उहाँका अनुसार एक खर्ब ६० अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको अनुमान गरिएको पोल्ट्री व्यवसायमा प्रत्येक वर्ष एक खर्ब २५ अर्बको उत्पादन हुने, ४५ अर्ब जतिको कच्चा पदार्थ आयात हुने गरेको छ । उहाँका अनुसार पछिल्ला केही वर्षयता कच्चा पदार्थमा ४५ प्रतिशत आयात घटेको अनुमान छ ।
नेपाल पोल्ट्री व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कुखुरापालन क्षेत्रले यतिबेला ठुलो घाटा बेहोरिरहेको बताउनुभयो । “हामीले बाहिर हेर्दा जे देखिरहेका छौँ वर्तमानमा यो व्यवसायको अवस्था त्योभन्दा भयावह छ,” उहाँले भन्नुभयो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार नेपालको आत्मनिर्भर यो व्यवसायमा सयौँको रोजगारी गुमिसकेको छ । देशको कुल गार्हस्थ उत्पादनमा २.९० प्रतिशत योगदान रहेको मानिएको यो व्यवसायको विकासका लागि राज्य उदासीन रहेको आरोप उहाँको छ । भट्टले कच्चा पदार्थ आयातमा छुट, अवैध चल्ला, मासु र अन्डाको आयातमा नियन्त्रणमा कडाई आवश्यक रहेको औँल्याउनुभयो । उहाँले अति संवेदनशील भ्याक्सिन आयातको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँका अनुसार सरकारले आयात अनुमति नदिएका कारण व्यवसायीले लुकिचोरी आएको भ्याक्सिन लगाउन बाध्य छन् ।

