चितवन । ल्होसारको अवसरमा भरतपुर महानगरपालिका वडा नं–२६ ज्योतिनगरमा दिव्यज्योति जुनेली गुरूङ आमा समूहको भवन उद्घाटन गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका र स्थानीयको सहयोगमा निर्माण गरिएको भवनको प्रदेश सभा सदस्य गीता गुरूङले उद्घाटन गरेकी हुन् ।
आमा समूहले खरिद गरेको जग्गामा एक करोड रुपैयाँ बढीको लागतमा भवन निर्माण गरिएको हो । दुई कठ्ठा क्षेत्रफलमा बनेको सो भवनको उद्घाटन गर्दै उनले हरेक समुदायको धर्म–संस्कृतिको रक्षामा सबै एक हुन आवश्यक रहेको बताइन् । समूहले विसं २०५१ सालमा खरिद गरिएको सो जग्गामा भवन निर्माण गरिएको हो ।
सो भवनमा सबै समुदायका व्यक्तिहरुले सबै संस्कारका कार्यक्रमहरु गर्न मिल्ने गरी निर्माण गरिएको छ । उनले भनिन्, ‘धर्म संस्कारको रक्षामा सबै लाग्नुपर्छ ।’ ल्होसारको शुभकामना दिँदै उनले प्रदेश सरकारले आफ्नो क्षमताअनुसार विकासका कामहरु गर्दै आएको बताइन् ।
समाजकी अध्यक्ष श्रीमाया गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भरतपुर–२६ की वडा सदस्य सावित्री कोइराला ढकाल, नेपाल प्रेस युनियन चितवनका कार्यवाहक अध्यक्ष प्रस्ताव सुवेदी, सुनबहादुर गुरूङ, दलबहादुर गुरूङलगायत बोलेका थिए ।

