काठमाडौँ । नेपाली काँग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सञ्चारकर्मीसँग आज भेटघाटका क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गर्नुभएको हो ।
पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।”
सो अवसरमा नेता पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर मात्र काँग्रेस नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताउनुभयो ।
उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व, जेन्जी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । उहाँले आमनिर्वाचनले नै मुलुकको अहिलेको राजनीतिको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले चुस्त सुरक्षाको व्यवस्था र आवश्यक अन्य काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
काँग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तर हाल तोकिएको मितिमा महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि समयाभावका कारण महाधिवेशनको मिति केही पर धकेलिने निश्चित देखिएको छ । यही प्रसङ्गमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हाललाई तीन तहका निर्वाचन सम्पन्न गरेर भएपनि १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिनुभएको छ ।
नेता पौडेलले भन्नुभयो, “महाधिवेशनको अहिलेको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नै पर्छ ।”

