काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भन्नुभयो ।
त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नबन्ने अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उहाँले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको हो भन्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गर्नुभएको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरू चुनावका विरुद्धमा नरहे पनि प्रतिगमन विरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताउनुभयो । आफूले प्रतिनिधिसभाको पुनः स्थापना हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताउनुभयो ।
भदौ २३ गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्ति सङ्गत नहुने बताउनुभयो ।

