रुपन्देही । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्स जहाजमा समस्या आएपछि आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार २ बच्चासहित ८२ जना यात्रु लिएर धनगढीबाट काठमाडौँका लागि उडेको सो विमानमा हाइड्रोलिक समस्या आएपछि अकस्मात् भैरहवामा अवतरण गराइएको थियो ।
‘पाइलटबाट हाइड्रलिक समस्या भएको जानकारी आएको छ, तत्काल रेस्कु गरेर सबै यात्रुलाई सुरक्षित अवतरण गराइएको छ, अर्को जहाजबाट काठमाडौँ पठाउने तयारीमा छौँ, केही समय आन्तरिक उडानमा पनि समस्या भयो तर अहिले त्यो विमानलाई साइड लगाएर सामान्य अवस्थामा सञ्चालन भइसकेको छ’ उहाँले भन्नुभयो । श्री एयरलाइन्सको प्राविधिक काठमाडौँबाट आएर अब प्राविधिक जाँच गरिएपछि मात्रै त्यसको अवस्थाबारे जानकारी हुने उहाँको भनाइ छ ।

