काठमाडौँ। हामी नेपालका संयोजक सुदन गुरुङले आफूलाई विदेशी एजेन्ट भनेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा जेनजी युनाइटेडलेले बिहीबार माइतीघरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजीहरूलाई विभाजित गर्न अनेक कुरा गरेर भ्रम छर्ने प्रयास भइरहेको दाबी गरे।
‘सुदन विदेशी एजेण्ट हो भन्दैछन्। मलाई कहिले भारतीय, कहिले भुटानी एजेन्ट बनाइएको छ’ गुरुङले भने, ‘म एउटा नेपाली नागरिक हुँ। गोरखाका सीडीओलाई फोन गरेर सुदन गुरुडले कहिले नागरिकता लिए भनेर बुझ्दा हुन्छ। मैले पहिलो नागरिकता कहिले लिएँ, दोस्रो र तेस्रो प्रतिलिपी कहिले लिएँ सोध्दा हुन्छ। त्यति गरेपछि म नेपाली हो कि होइन स्पष्ट हुन्छ। आँखा चिम्से हुने वित्तिकै भुटानी, विदेशी भन्न मिल्दैन। अलि कालो हुने बित्तिकै भारतीय भन्न मिल्दैन।’
उनले आफूहरु अहिले देशको लागि लडिरहेको बताए।
उनले जेनजी आन्दोलनमा भएको गलत क्रियाकलापको छानविन गर्ने हो भने पहिलो छानविन महेश बस्नेतमाथि गर्नुपर्नेमा जोड दिए। ‘उनी राज्यसत्तामा थिए। उनको नागरिकता, सम्पत्ती सबै छानविन गरौँ,’ गरुडले भने, ‘गोली हान्नेले हामीमाथि छानविन गर भन्न मिल्दैन।’
आफ्नो संस्था ‘हामी नेपाल’ एनजीओ नभएको दाबी पनि उनले गरेका छन्। ‘यो गैर नाफमूलक संस्था हो,’ उनले भने।
आन्दोलनमा घुसपैठ गर्नेहरुलाई आफूहरुले समाएर प्रहरीलाई बुझाइरहेको दाबी पनि उनले गरे। उनले आन्दोलनको क्रममा घुसपैठ गरेर कांग्रेस र एमालेले एकअर्काका सम्पत्तीमा आगजनी गरेको दाबी गरे। कांग्रेस नेताहरु गगन थापा र शेखर कोइरालाले पनि पार्टीपार्टी बीचको द्वन्द्वको कारण एकअर्काविरुद्ध आगजनी भएको भनेर अभिव्यक्ति दिएको उनको तर्क छ।
‘उनीहरुले एकअर्काका विरुद्ध आगजनी गरेका छन्, त्यसको शिकार हामी हुन सक्दैनौँ,’ उनले भने, ‘सत्य बुझौँ। ८० वर्षसम्म देशमा बेतिथि भएपछि जेनजी आन्दोलन भएको हो। यो सरकार बनेको एक महिनामै सबै परिवर्तन हुँदैन। हामीले पर्खिनुपर्छ।’
उनले प्रधानमन्त्री हुँदा केपी ओलीले घरघरमा ग्याँसका पाइप ल्याउँछौँ, सिंगापुर, स्वटजरल्यान्ड बनाउँछौँ भने पनि केही नगरेको बताए।
उनले अब हुने चुनावमा पुराना पार्टीले जिते देश सय वर्ष पछि पर्ने तर्क गरे।
‘हामी नेपालीले धेरै सह्यौँ। अब पनि पुराना पार्टीलाई भोट दिएर विजयी बनाइयो भने नेपालीले अझै सय वर्षसम्म सुख पाउँदैनन्। जेनजी आन्दोलनपछि कसलाई भोट हाल्नुपर्छ नेपाली जनताले बुझिसकेका छन्,’ उनले भने।
विस्तारै सबैले जेनजी आन्दोलनलाई विर्सन थालेको जस्तो देखिएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे। ‘अहिले सातवटा पार्टीका साइबर सेनाहरुले सोसल मिडियाबाट बमबारी गरिरहेका छन्। यसमा उनीहरुको जस्तो क्रिया हुन्छ, हामी पनि सोही खाले प्रतिक्रिया दिन्छौँ,’ उनले भने।
गोली प्रहार गर्नेलाई कारबाही किन भएन भनेर आफूहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेको भन्दै उनले गृहमन्त्रीबाट दोषीमाथि कारबाहीको प्रोसेस सुरु भएको जबाफ पाएको सुनाए।
‘प्रोसेस हुँदैछ, आयोगबाट छानविन भइरहेको भन्ने जबाफ पाएका छौँ। एकअर्काको घर जलाउने पार्टीका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन्,’ उनले भने, ‘जेनजी आन्दोलनमा गोली हान्ने आदेश केपी ओलीले दिए। राजनीतिक दलका कार्यकर्ताले एकअर्काको घर जलाए, दोष हामीलाई दिन मिल्दैन,’ गुरुङले भने।

