चितवन। माडीको कल्याणपुर युवा क्लबद्वारा आयोजित ’दोश्रो तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२’को उपाधी स्टार स्पोर्ट युवा क्लब बरुवाले उचालेको छ ।
सोमबार सम्पन्न फाइनल स्पर्धामा योङ्ग ब्वाइज क्लब दिवानगर (घाँघर)लाई टाइब्रेकरमा पराजित गर्दै स्टार स्पोर्टले उपाधी चुमेको हो । निर्धारित समयसम्म ०–० गोलको बराबरी भएकोमा टाइब्रेकरमा ३–२ गोलअन्तरबाट स्टारले बाजी मारेको हो ।
फाइलन खेलको म्यान अफ द म्याचसंगै समग्र खेलको बेष्ट गोलकिपरको उपाधी स्टार स्पोर्टका गोलरक्षक प्रवेश थापामगर घोषित हुनुभयो । त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट स्टार स्पोर्टकै अनुप भुजेल घोषित हुनुभयो । त्यस्तै सर्बाधिक गोलकर्ता स्टार स्पोर्टकै पदम नेपाली घोषित हुनुभयो ।
बेष्ट डिफेन्समा भने योङ्ग ब्वाइज दिवानगरका आशिष सुनार र अनुशासित टिमका रुपमा समाज सुधार युवा क्लब बगहीं पुरस्कृत भएका थिए भने इमर्जिङ प्लेयरका रुपमा धौलागिरी युवा क्लब रामराज्यपुरका १३ बर्षीय सक्षम गुरुङ घोषित हुनुभयो ।
“जेनजीको लडाईं, नयाँ भविष्यको जग, मैदानमा गोल, समाजमा क्रान्ति” भन्ने मूल नारासहित दिवाकर बहुप्राविधिक शिक्षालय हरिनगरको चौरमा सो प्रतियोगिता सञ्चालनमा भएको आयोजक क्लबका अध्यक्ष ललित राउतले बताउनुभयो ।

