चितवन। भरतपुरस्थित मालपोत कार्यालय चितवनमा करिब दुई लाख जति जग्गाधनी प्रमाणपत्रको स्रेस्ता जलेर नष्ट भएको छ ।
जेनजी प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडका कारण सो कार्यालयको सेवा क्षेत्रभित्रका एक लाख ९८ हजार स्रेस्ता जलेर खरानी भएको कार्यालयका प्रमुख रमेशप्रसाद गौतमले जानकारी दिनुभयो । जग्गाधनी प्रमाणपत्रको कागजी स्रेस्ता जलेर नष्ट भए पनि ९५ प्रतिशत अनलाइन डेटा सुरक्षित रहेको कार्यालयले जनाएको छ । अनलाइन डेटा सुरक्षित रहेका कारण स्रेस्ता कायम गर्ने कार्यमा सहज हुने उहाँले बताउनुभयो ।
आगजनीबाट कार्यालयमा रहेका जग्गाधनी प्रमाणपत्रको स्रेस्तासहित अन्य महत्त्वपूर्ण कागजात, फर्निचरका सामान, उपकरण तथा कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन् । कार्यालयको मुख्य भवनमा पूर्ण रूपमा क्षति भएको छ । मर्मत गरेर सञ्चालनमा ल्याउन नसक्ने गरी भवनमा क्षति पुगेको प्रमुख गौतमले बताउनु भयो । २०१३ सालदेखिका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । कहिल्यै फाल्न नमिल्ने बर्सौँ वर्ष सुरक्षित गरेर राख्नुपर्ने कागजात जलेर नष्ट हुँदा रकममा आकलन गर्नै नसक्ने क्षति भएको प्रमुख गौतमको भनाइ छ ।
चितवनमा रहेका पश्चिम चितवनको माडी, चनौली र पूर्वी चितवनको खैरहनीमा मालपोतको इकाई कार्यालयहरू रहेका छन् । माडी र चनौलीस्थित कार्यालय खरानी हुनबाट जोगिएको छ भने खैरहनीस्थित कार्यालयमा आंशिक क्षति भएको छ । उक्त कार्यालयमा तोडफोड र आगजनीबाट साबिक खैरहनी गाविसका १४ वटा ठेली जलेर खरानी पारिएको छ । मर्मतसमेत गर्न नसक्ने गरी आगजनी गरिएको भरतपुरस्थित मालपोतले कार्यालय परिसरभित्र अस्थायी रूपमा टहरो बनाएर काम सुरु गरेको छ। आगजनी गरिएको कार्यालयको भवनको पछाडि टहरो तथा सामान्य भवन बनाएर काम सुरु गरिएको नायब सुब्बा कृष्ण पौडेलले बताउनु भयो ।
राजीनामा, अंशबन्डाका लागि स्रेस्ता कायम गर्न हतार नगर्न आग्रह गर्दै उनले तत्कालका लागि अति आवश्यक धितो, दृष्टिबन्धकी, शेषपछिको बकपत्र, नगद अंशबन्डा भर्पाई, मानो जोडिएको र छुट्टिएको कामका लागि मात्र स्रेस्ता कायम गर्ने काम गरिएको उहाँको भनाइ छ ।
जग्गा किनबेच र अंशबन्डाका काम लिएर तत्कालका लागि कार्यालय नआउन उहाँले आग्रह गर्नुभयो । भवन तथा आवश्यक सामग्री र उपकरणको व्यवस्थापन गरी तिहारपछि सेवा क्षेत्रभित्रका जग्गाधनीको स्रेस्ता कायम गर्ने काम तीव्र गतिमा अगाडि बढ्ने कार्यालयले जनाएको छ ।

