काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भदौ २३ गते भएको नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’तर्फ धकेलेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले जेनजी पुस्ताले गरेको आन्दोलनपछिको अवस्थाबारे अपिल जारी गरेका हुन् ।
आफ्नो पुस्ताका नालायकीप्रति लज्जित भएको भन्दै उनले माफी मागेका छन् । साथै, सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्ठालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वत:स्फर्त आक्रोशले मात्रै नभएको उनको विश्लेषण छ ।
मेरो अपिल
भदौ २३ गते नौजवान युवापुस्ता (जेनजी)ले जुन माग राखेर र जुन आचारसंहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए । त्यसले सबै नेपालीलाई स्वत:स्फूर्त आकर्षित गरेको थियो । त्यसले उनीहरुको जिम्मेवारी बोधको उचाइ समेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरुमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाइदियो ।
वस्तुतः सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्ठालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वत:स्फूर्त आक्रोशले मात्रै भएका थिएनन् भन्ने तथ्य बुझ्न हामीलाई समय लाग्नेछ ।
यसबाट मुलुकले महाभूकम्प र भारतको नाकाबन्दीकै जस्तो खर्बौंको राष्ट्रिय सम्पत्तिको ध्वंश भएको छ । एकैदिनमा देशभरि लुट, तोडफोड र आगजनीको ताण्डवले हाम्रो राष्ट्रिय मानसपटलमा जुन चोट पुञ्याएको छ, त्यसले हामीलाई दशकौँसम्म झस्काइरहनेछ ।
प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्तालिप्साले गर्दा मुलुकले १० वर्षमा हासिल गर्नसक्ने तीव्र आर्थिक विकास र सामाजिक तथा सांस्कृतिक आधारहरु निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’तर्फ धकेलेको छ ।
दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ श्रृङ्खलामा प्रवेश गरेको छ । वस्तुतः भ्रष्टाचार विरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरु नेपाललाई युक्रेन, लिबिया वा बंगलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।
लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्न सक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरु जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठूला दुर्दिन नजिक आउँदैछन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ । भ्रष्टाचार नगर्ने सदस्यहरुको पार्टीविना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ ।
दलाल पुँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरुमा स्थापित गर्न सकिएन । राजनीतिको मिटरब्याजमा सत्ताभोग गरिरहेका नेताहरुबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दैछ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिका लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरु सामाजिक लफङ्गाहरुबाट लखेटिनुपर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हतास, निरुपाय भएर लुक्नुपर्ने भयो ।
मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पङ्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैँभित्रका नालायकीमाथि विजय हासिल गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरुको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन ।
यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरुको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मणरेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढी धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।
नयाँ राजनीतिक–भूराजनीतिक घटनाहरु कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिउँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परीक्षामा छौँ, सामना गर्न मनसा–वाचा–कर्मणा तयार होऔँ ।
अन्त्यमा, प्रिय नौजवान युवाहरु (जेन जी) ! तपाईँहरुलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरुलाई अरुले लुट्न नपाओस् ।

