वीरगञ्ज । धान रोप्ने समयमा खडेरी पर्दा समस्या खेपेका मध्यतराईका किसानहरुले जेनतेन गरेर धान रोपेको भएपनी पर्याप्त पानी नपर्दा रोपेको धानबाली समेत सुक्न थालेपछि दोहोरो मर्कामा परेका छन् ।
जेनतेन रोपेको खेतमा पानी अभावका कारण धजा फाटेको छ भने केही किसानको धानबाली जलेर नष्ट भएको छ । डिप बोरिङ र नदी छेउका खेतमा जेनरेटर मार्फत सिँचाइ गरिएको भए पनि बाँकी खेतहरूमा सिँचाइ नहुँदा धान जलेर नष्ट भएको किसानहरूले बताएका छन् ।
पर्साको प्रसौनी बिर्ताका किसान जोगेन्द्र यादवले आफ्नो १८ कठ्ठा धानबाली पानीको अभावमा पूर्ण रूपमा जलेर नष्ट भएको बताउनुभयो । उहाँका अनुसार यादवको १ विगाह १५ कठ्ठा खेतमध्ये बाँकी १७ कठ्ठामा नदी र बोरिङमार्फत सिँचाइ गरेर केही जोगाउन सकिएको छ ।
गत बर्ष राम्रो उत्पादन भएकै कारण यसपालि थप एक बिगाहा जमिन लिजमा लिएर खेती गरेको थिएँ, तर अब सबै लगानी डुब्ने भयो,” यादवले गुनासो गर्नुभयो । जेनरेटर तथा दमकलले सिँचाइ गर्दा खर्च अत्यधिक हुने मात्र नभई प्रतिफल पनि अपेक्षित नआएको किसानहरूको गुनासो छ ।
पानी समयमा नपर्नु, सिँचाइको समस्या, र समयमा मल नपाइने जस्ता कारणले यसपालि धानखेती निकै कठिन भएको किसानहरूले बताएका छन् । आकाशे पानीमा भर पर्नु पर्ने किसानहरूलाई यस वर्ष पर्याप्त वर्षा नहुँदा ठूलो संकट परेको छ ।
कृषि क्षेत्रका विज्ञहरूले पनि यसपालि धान उत्पादनमा कमी आउने अनुमान समेत गरेका छन् ।

