चितवन । रत्ननगरको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको कार्यक्रममा १४ महिलासहित १०७ जनाले रक्तदान गरेका छन् ।
रत्ननगर नगरपालिका वडा नं–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम् अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहदत्त पौडेल ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा १०७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिए ।
कार्यक्रममा रेडियो अर्पणका उपाध्यक्ष एवम् अर्पण साकोसका पूर्वअध्यक्ष यमन भुसालले रक्तदान कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमलाई हौसला दिन उपस्थित भएका रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अर्पण साकोसले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिका सहकार्य गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष सापकोटाले अर्पणको सामाजिक भूमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले बेला बखतमा आयोजना गर्ने रक्तदान कार्यक्रमबाट रगतको अभावपूर्ति हुने गरेको बताए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवम् अर्पण सोकोसका अध्यक्ष मोहदत्त पौडेल ‘सुरज’ले सेवा शुभारम्भको अवसरमा आफूहरुले रक्तदानजस्तो पुनित कार्य गरेको र यसको लागि विभिन्न स्थानबाट गरिएको सहयोगका साथै रक्तदाता महानुभावले देखाएको उपस्थितिले आगामी दिनमा थप उल्लेख्य कार्य गर्न प्रेरित गरेको बताए ।

