डडेल्धुरा । डडेलधुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
नवदुर्गाको टाँकथलागडा देखि डडेल्धुरातर्फ आइरहेको से.१ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हाे । बिहीबार बिहान साँढे ८ बजे नवदुर्गा गाउँपालिका वडा नं. ५ चौडबान्नी नजिकै रहेको उपल्ली काँडे भन्ने स्थानमा साे दुर्घटना भएको थियो ।
सडक खण्डबाट झण्डै अढाई सय मिटर तल खसेर दुर्घटना भएको छ भने उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल पुगिसकेको जनाएको छ । मृत्युहुनेमा नवदुर्गा गाउँपालिका वडा नं.५ गजेलाकी ४० वर्षीय तारादेवी अबस्थी,सोही वडाका ७२ वर्षीय कलुदेबी साँउद,नवदुर्गा वडा नं.५ का १८ वर्षीय सुरेश साँउद र सोही वडाका २३ वर्षीय सुरेश पार्की रहेका छन् । घाइते हुनेमा नवदुर्गा गाउँपालिका वडा नं.५ का सवारी चालक ३५ वर्षीय रामबहादुर साँउद,सोही ठाउँका ४८ वर्षीय चन्द्रबहादुर साँउद,सोही ठाउँका ४ वर्षीय प्रितका पार्की,सोही ठाउँका ४३ बर्षिया गणेशबहादुर साँउद र १८ बर्षिया सुशिला बिक रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागी डडेल्धुरा अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने जनाएको छ ।

