चितवन । स्टार स्पोर्ट क्लब, बरुवाको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज र जितियाको अवसर पारी आउँदो भदौ १० गतेबाट ३०औं स्टारकप राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलन सहित ट्रफी अनावरण कार्यक्रम आयोजना गरेको क्लबका सचिव सुनिल पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा माडीका ४ टिम सहित चितवन, पर्सा र नवलपुरका कूल १० वटा टीमको सहभागिता रहँदैछ । प्रतियोगिताको समुद्घाटन खेल भरतपुर-२४ युवा खेलकूद समिति र जनकल्याण तमु समाज कल्याणपुरबिच भदौ १० गते (तीज पर्वको दिन) सञ्चालन हुने खेल तालिका रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ २१ गते सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रु.२ लाख ५१ हजार १११ रुपैंया पाउनेछ । त्यस्तै उपविजेता टीमले मेडल र प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार ५५५ रुपैंया पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जनाउनुभयो ।
कार्यक्रमको मुख्य प्रवद्र्धक माडी १ वडा कार्यालय रहेको छ भने टाइटल स्पोन्सर (मुख्य प्रायोजक)मा दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिआएको गोल्डन इमिनेन्ट इन्टरनेशनल रहेको छ । स्टार स्पोर्ट क्लबले हरेक बर्ष तीज पर्वको सन्दर्भ पारी विगत ३ दशकदेखि लगातार सो स्पर्धा सञ्चालन गरिआएको छ ।

