काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उद्घाटन गर्नु भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । हाम्रै गाउँ घरमा किसानलाई आवश्यक सल्लाह , कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न आवश्यक छ ,- मन्त्री अधिकारीले भन्नुभयो ।उहाँले मन्त्रालयले आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आइरहेकाले किसानलाई यसको लाभ लिन आग्रह गर्नुभयो ।
विभिन्न पालिकामा यस आयोजना मार्फत अत्याधुनिक सेवा सहितका कृषि भवनहरू निर्माण भएकाले पालिकाहरूले पनि यसको प्रभाकारी सञ्चालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भन्नुभयो । कार्यक्रममा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले किसानहरूलाई सरकारले बढी भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगर प्रमुख जित नारायण यादवले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको सञ्चालनले कृषि र पशुमा देखिने समस्या समाधान गर्न सहज हुने बताउनुभयो ।
आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले केन्द्रको संचालमा पालिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । २ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परीक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको आर्थिक करिडोर , महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिनुभयो ।

