चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरीक्षक प्रतिक सिंहलाई २०८२ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी घोषित’ घोषणा गरेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत सिंहले अपराध अनुसन्धान, जनताको विश्वास जित्न सफल सेवा, ट्राफिक व्यवस्थापन, सडक सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो।
प्रहरी निरीक्षक सिंहले चितवन जिल्लाको मुग्लिन क्षेत्रका विभिन्न घटनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। स्थानीय एक व्यक्तिको घरबाट हराएको नगद रकम तथा सुनचाँदीका गहना सम्बन्धी घटनामा अनुसन्धान गर्दै उहाँले अभियुक्त पत्ता लगाई मुद्दा दर्ता गराउनुभएको थियो । उहाँले चोरीका घटना, लागूऔषध कारोबार तथा विभिन्न आपराधिक क्रियाकलापहरूमा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल अनुसन्धान गर्नुभएको थियो ।
त्यस्तै,नारायणघाट–मुग्लिन सडक खण्डमा सवारी दुर्घटनालाई कम गर्न सिंहले निरन्तर ट्राफिक व्यवस्थापन र सचेतनामूलक अभियान सञ्चालन गर्नुभएको थियो । सडक जाम हटाउन, यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न र स्थानीय तहका सरोकारवालासँग समन्वय गर्दै सिंहको टोलीले उल्लेखनीय काम गरेको कार्यालयले जनाएको छ।
सिंहको नेतृत्वमा ट्राफिक व्यवस्थापनमा सुधार, मादक पदार्थ सेवन विरुद्धको कडा निगरानी, र प्रहरी–जनसहभागिता अभिवृद्धि गरिएको भन्दै उहाँलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्दपुरीले सिंहलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि यस्तै योगदानका अपेक्षा व्यक्त गर्नुभयो ।


