चितवन । रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र सङ्घका अध्यक्ष शङ्कर गिरीले संयूक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् । सङ्घका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासको लागि सकारात्मक सन्देश प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय परिसर भित्र गैँडाको मूर्ति निर्माण गरिएको बताए । चितवन जिल्लाको पहिचानको रुपमा स्थापित एकसिँगे गैँडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्ला प्रतिको माया जागृति हुनुको साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए ।
अध्यक्ष गिरी सङ्घले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्वको कामहरूलाई समेत अगाडि बढाएको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिँगे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताए । रत्ननगर उद्योग वाणिज्य सङ्घले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताए । यो आगामी पुस्ताको लागि पनि सिकाइको विषय बनेको छ उनले भने यसले जिल्लालाई नै परिचित गराउने छ । सङ्घका बरिष्ठ उपाध्यक्ष निराजन खनालले सङ्घले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा गैँडाको मूर्ति निर्माण गरेको बताए ।
सङ्घका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख गोविन्द पुरी, भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अनिलकृष्ण श्रेष्ठ, सङ्घका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरू गोपालराज कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर बिसुराल, सङ्घका उपाध्यक्ष रामशरण नेपाल, कार्यसमिति सदस्य रघुनाथ भट्ट, अनिल अधिकारी, रवि तिमिल्सिना, प्रकाशमणि सापकोटा, कृष्ण चौधरी, शमशेर धामल्ले लगायतको उपस्थिति रहेको थियो ।

