चितवन । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा सुनचाँदी व्यवसायी महिला समूह चितवनले सोमवार नारायणगढमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सद्भाव र एकतामा जोड दिएका छन् । समूहका महिलाहरुका बीचमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य तथा महिला सशक्तिकरण समितिका संयोजक ऋतु विश्वकर्माले तीजको सांस्कृतिक महत्वका बारेमा प्रकाश पार्दै तीजलाई सांस्कृतिक पर्वकै रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो वर्षहरुमा तीजको सांस्कृतिक पक्षलाई ओझेलमा पार्नेगरी विकृतिहरु आइरहेको बताउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने भनाई राख्नुभयो ।
त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले तीजले महिलाका वेदना उजागर गर्ने पर्वको रुपमा पहिचान बोकेको भएपनि उश्रृङ्खल र सामाजिक विकृति भित्र्याउने खालका गतिविधि हुन थालेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनका अध्यक्ष रुवेन रामुदामुले हरितालिका तीजकाृ शुभकामना सहिता परम्परागत रुपमा चल्दै आएको तीजलाई सामाजिक, सांस्कृतिक र मौलिकता हराउन दिन नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पश्चिम चितवन सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मैना सुनारले हिजो नारीका बेदना उजागर गरेको तीजले अबका दिनमा सामाजिक सन्देश प्रवाह पनि गर्नुपर्ने भनाई राख्नु भयो ।
त्यसैगरी सुनचाँदी व्यवसायी महिला समूह चितवनकी सल्लाहकार इन्दिरा सदाशंकरले तीजबो आफ्नै मौलिकता र विशेषता रहेको औंल्याउँदै तीजको मौलिकतामा जोड दिनुभयो ।
कार्यक्रमकी अध्यक्ष, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामेले महिला समूह भित्रका दिदिबहिनीहरुलाई भेटघाट गराउने र आपसमा सुख–दुःख साटासाट गर्ने वातावरण बनाउनको लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क, संघका द्धितिय उपाध्यक्ष मोहन पन्थी, तृतिय उपाध्यक्ष शोभा बराली, महासचिव गोपाल बहादुर वि.क थापाको उपस्थिति रहेको थियो ।
समूहकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता भट्टराई घतानेले स्वागत मन्तवय व्यक्त गर्नु भएको कार्यक्रममा समूहकाी महासचिव मन्जु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

