चितवन। भरतपुर क्षेत्रका विभिन्न होटलमा प्रहरीले आइतबार छापा मार्दा २० जना पक्राउ परेका छन् । भरतपुर र नारायणगढ बजारका होटलमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन्। पक्राउ परेकामध्ये केही होटल सञ्चालक र कामदार पनि रहेका बताइएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढको संयुक्त टोलीले छापा मारेको थियो। सो क्रममा विभिन्न होटलमा संलग्न गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हाल नियन्त्रणमा परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

