चितवन। बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी समस्या हल गर्न सरकार प्रयत्नरत रहेको बताएकी छिन् । समस्याग्रस्त सहकारीको अध्ययन गरी व्यवस्थापनको लागि सरकारले काम गरिरहेको उनले बताइन् ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली निर्माण गरेर अघि बढ्ने बताइन् । समस्याग्रस्त सहकारीको व्यवस्थापन गरी सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने गरी काम सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।
उनका अनुसार सरकारी क्षेत्रका विकृति विसङ्गति नियन्त्रणका लागि सरोकार पक्षसँग आवश्यक छलफल र सहकार्य गर्न सरकार तत्पर रहेको छ । आम बचतकर्ताको हित गर्ने गरी सरकारले सहकारीका समस्याहरूको पहिचान गरी व्यवस्थापनको लागि काम गर्ने उनले बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए । उनले समस्याग्रस्त सहकारीको समस्या पहिचान गरेर व्यवस्थित र दीर्घकालीन रूपमा समाधानका लागि लाग्नुपर्ने बताए ।
कार्यक्रमका बिच नवनियुक्त मन्त्री रायमाझीले वीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यापर्ण गरेकी थिइन् ।

