चितवन । चितवनकाे कालिका नगरपालिका- ७ गैडेखाेलाका ७५ वर्षिय वृद्ध लाल बहादुर बस्नेतले आफूले पाउँदै आउनुभएका वृद्ध भत्ताकाे रकमबाट वडाका बिपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएकाेछ ।
वृद्ध बस्नेतले कालिका- ७ का वडा अध्यक्ष कमलराज मुक्तानकाे सहयाेगमा राजकुमार महताे, बिक्रमी बि.क र छविलाल कुमालकाे गरि ३ जना बिपन्न परिवारकाे रू १० हजार ५ सय (एक वर्ष) काे नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएकाे हाे ।
बस्नेत र उहाँकी ७० वर्षिया धर्म पत्नी हिरा कुमारी बस्नेतले स्वास्थ्य वीमालाई तिर्नकाे लागि रकम वडा अध्यक्ष मुक्तानलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
साे अवसरमा बाेल्दै बस्नेतले आफूले पाउदै आएकाे वृद्ध भत्ताकाे रकमबाट बिपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य वीमा गरिदिदा निकै पुन्यकाे काम गरेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे, “यदि मैले याे रकम बिपन्न परिवारलाई खानेकुरा किनेर दिएकाे भए जम्मा एक छाक हुन्थ्याे, आज मैले नि:शुल्क वीमा गरिदिएपछि ३ घर परिवारले एक वर्षकाे लागि नि:शुल्क स्वास्थ्य लाभ लिन पाउनेछन्, मेराे लागि यही नै ठूलाे धर्म हाे ।”
७५ वर्षिय वृद्ध बस्नेतकाे श्रीमति, ३ छाेरा, २ छाेरी गरि ५ वटा सन्तान रहेकाछन् ।
वडाले गर्नुपर्ने काम यी ७५ वर्षका वृद्ध बुबाले गरिदिदा निकै खुसि लागेकाे वडा अध्यक्ष मुक्तानले बताए ।

