चितवन। चितवनको खैरहनीको नापी कार्यालयका कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको छ ।
कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि अज्ञात समुहले उनकै कार्यकक्षमा प्रवेश गरि मंगलबार दिउँसो दुर्व्यवहार गरेको हो । आफुलाई नेकपा बहुमतको कार्यकर्ता बताउने दुईजनाले कार्यकक्षभित्र पसेर आक्रमण गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखमाथि कालो मोबिल छ्याप्नुको साथै हमला भएको हो ।
घटना लगत्तै कार्यालयको सम्पुर्ण सेवाहरु बन्द भएको छ । राष्ट्रसेवकमाथी भएको आक्रमणको विरोध र दोषी उपर कारबाहीको माग गर्दै कर्मचारीहरुले कार्यालयको सम्पुर्ण सेवाहरु बन्द गरेका हुन् । कार्यालयका कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही नभएसम्म कार्यालयको सेवा अवरुद्ध हुने जनाएका छन् ।
घटना लगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सिसिटिभीको सहयोगमा घटनामा संलग्नहरुको पहिचान गरेर खोजी कार्य तिव्र बनाएको बताए ।

