काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ।
अध्यक्ष माधव नेपालसँग भनाभन भइरहेका बेला खनालले गौतमसँग आफ्नै निवासमा छलफल गरिरहेका हुन्।
दुई नेताबीच करिब आधा घण्टादेखि संवाद भइरहेको खनालको सचिवालयले जनाएको छ।
सचिवालयले भनेको छ, ‘समसामयिक राजनीति विषयमा झलनाथ खनालको निवास डल्लुमा कमरेड वामदेवसँग संवाद चलिरहेछ।’
हालैको अन्तर्वार्तामा एकीकृत समाजवादीका सम्मानित नेता खनालले ‘एमाले फुटाएर नयाँ पार्टी बनाउनु गल्ती भएको’ भनेपछि अध्यक्ष नेपालले ‘पार्टी छाडेर गए हुन्छ’ भनेका थिए। त्यसयता दुई नेताबीच सार्वजनिक रूपमै भनाभन भइरहेको छ।
त्यसो त हालै मात्र एकीकृत समाजवादीमा सम्मिलित वामदेव गौतम पनि पार्टीप्रति सन्तुष्ट छैनन्। उनले आफूलाई पार्टीमा काम नदिए लामो समय रहन नसक्ने चेतावनी दिइसकेका छन्।
यहीबीच पार्टीका दुई नेता खनाल र गौतमबीच भेटवार्ता भइरहेको हो।

