चितवन । धानखेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले धानखेतका कृषक हरिभक्त श्रेष्ठलाई पक्राउ गरेकोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।
सो पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिना र नगर ईञ्चार्ज गिरीधारी सुवेदीले एक वक्तव्य जारी गर्दै निजी स्वामित्वको सो धानखेतका कृषक श्रेष्ठलाई नेपाली सेनाको टोलीले पक्राउ गरिनु एकपक्षीय, अविवेकी र आपत्तिजनक कार्य हो भन्ने हाम्रो ठहर सहित तत्काल रिहाको माग गर्नुभएको हो ।
वक्तव्यमा, घटनास्थल निकुञ्जको सीमाबाट करिब २.५ कि.मी. टाढा निजी जमिनमा रहेको तथा खेतमा बिछ्याइएको विद्युतिय तारबार वन्यजन्तु मार्न नभई खेतका वाली जोगाउन लगाइएको रुपमा बुझ्नुपर्ने बिषय औंल्याउँदै घटनामा कुनै अपराधको आशंका नरहेको जिकिर गरिएको छ ।
वक्तव्यमा घटनाबारे निष्पक्ष र वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने, कृषकलाई तत्काल रिहा गर्नुपर्ने तथा वन्यजन्तु संरक्षण नीतिहरू बनाउँदा स्थानीय जनताको जीविकोपार्जन र सुरक्षालाई समेत ध्यानमा राखिनुपर्ने माग गर्दै एकसिंगे गैंडाको मृत्यु भएकोमा दुःख प्रकट समेत गरिएको छ ।स्वदेश एफएमको सहयोगमा

