काठमाडौँ । श्रीलङ्काको संसद्ले देशका प्रहरी प्रमुख देशबन्दु टेन्नाकोनलाई दुरुपयोग र अनुशासनहीनताको आरोपमा बर्खास्त गरेको छ। देशको इतिहासमै पहिलोपटक प्रहरी महानिरीक्षक (आईजीपी) संसद्बाट बर्खास्त गरिएका हुन्।
मंगलबार भएको मतदानमा कुनै पनि सांसदले उनको बर्खास्तीको विपक्षमा मत दिएनन् भने एक जना सांसद अनुपस्थित रहेका थिए । संसद्ले नियुक्त गरेको विशेष समितिले टेन्नाकोनमाथि छानबिन गरी गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा उनीमाथि १९ वटा अनुशासनहीनता र पदको दुरुपयोगसम्बन्धी आरोप पुष्टि भएको जनाएको थियो।
उनमाथिको मुख्य आरोप २०२३ मा वेलिगामा गरिएको एक असफल प्रहरी कारबाहीसँग सम्बन्धित छ, जसमा उनले एक सशस्त्र टोली पठाएका थिए। उक्त टोली अर्कै प्रहरी समूहसँग दोहोरो भिडन्तमा परेको थियो, जसका कारण एक प्रहरीको ज्यान गएको थियो।
समितिको प्रतिवेदनमा टेन्नाकोनले वेलिगास्थित एक होटलमा होटल मालिकलाई डरत्रास देखाउने उद्देश्यले पठाएको टोलीमाथि गोली चलाउन निर्देशन दिएको उल्लेख छ।
एक राज्यका अभियोजकले समितिमा बयान दिँदै टेन्नाकोनले ८५,००० प्रहरी अधिकृतको नेतृत्व गर्ने व्यक्तिका रूपमा “अपराध सञ्जाल” सञ्चालन गरेको र उनी प्रहरी सेवाका लागि अयोग्य रहेको बताएका थिए।
टेन्नाकोनले गत महिना सुरु भएको महाभियोग प्रक्रियापछि कुनै प्रतिक्रिया दिएका छैनन्। उनी २०२३ मा तत्कालीन राष्ट्रपति रानिल विक्रमसिंघेद्वारा प्रहरी प्रमुखमा नियुक्त भएका थिए। तर सो समयमा नै विपक्षी सांसदहरू र मानव अधिकारकर्मीहरूले उनको नियुक्तिको विरोध गरेका थिए।
५४ वर्षीय टेन्नाकोन श्रीलङ्काको इतिहासमै महाभियोगमार्फत बर्खास्त गरिने पहिलो प्रहरी प्रमुख बनेका छन्।

