नवलपुर । सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडक खण्ड सञ्चालनमा आउन नसकेको हो ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले लगातारको वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
“पहिरोसँगै वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात अवरुद्ध भएको हो”, उहाँले भन्नुभयो, “दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन सकेको छैन ।”
दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ । २४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बिच बाटोमा रोकिएका छन् । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।

