चितवन । चितवनका ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने संस्था (कन्सलटेन्सी)हरु जिल्ला प्रशासन कार्यालयमा अझै सूचीकृत नभएको पाइएको छ । मेटलाइफ, वली एण्ड एशोसियट्स, वाताशी, पेन्गुइन, डल्फिन एजुकेशन, कनेक्ट निहोन लगायतका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजपत्र पेश गर्न निर्देशन दिइएको छ ।
सूचीकृत हुन पटक–पटक आह्वान गर्दा पनि केहि कन्सलटेन्सी सम्पर्कमा नआएपछि प्रशासन कार्यालयले कन्सलटेन्सीहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६७ वटा कन्सलटेन्सी शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन निर्देशिका सञ्चालन नभएको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मदन लामा थिङले जानकारी दिए ।
कानुन बमोजिम सञ्चालन नभएका कन्सलटेन्सीहरुलाई तीन दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धित कागजपत्र पेश गर्न भनिएको उनले बताए ।
‘तोकिएको समयभित्र कागजपत्र पेश नगर्ने संस्थाहरु बन्द गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउनेछौँ’, उनले भने । यसबाहेक प्रशासन कार्यालयम सूचीकृत भई थप कागजपत्र पेश नगरेका कन्सलटेन्सीलाई पनि तीन दिनभित्र पेश गर्न भनिएको छ ।




