चितवन । आर्थिक बर्ष २०८२/०८३ शुरु भए सगै भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाइ निरन्तरता दिएको छ ।
दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको हो ।
महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुर क्षेत्रका विभिन्न पसलहरुमा कडा निगरानीका साथ अनुगमन गरेको छ ।
भरतपुर ४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो परिणाममा अखाद्य तेल नष्ट गरिएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य प्रमुख प्रमोद चन्द्र पौडेलले चेकजाँच गर्दा तेल अखाद्य भएको पुष्टि भएको हुँदा नष्ट गरिएको बताए ।
उक्त उद्योगमा सरसफाइ नभएको,खानेपानीको सुविधा नभएको,शौचालय र पाउरोटी बनाउने स्थान नजिकै भएको भेट्टिएपछी महानगरपालिकाले ५ हजार रुपैयाँ सरसफाइ स्वरुप जरिवाना गरेको हो भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने,सुधार नभए अर्कोपटक कडा कारवाही हुन्छ । महानगरपालिकाले भरतपुर ४ कै श्री लक्ष्मी नारायण चिउरा मिल र शिव पाउरोटी उद्योगमा पनि अनुगमन गरेको छ ।
महानगरले सोमबार नै भरतपुर ७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही अधिकाश पसलहरु दर्ता नभएको पाइएपछी अबिलम्ब दर्ता गर्न महानगरले अनुरोध गरेको छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको हो । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ ।
उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् ।
सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ ।
अनुगमनका क्रममा खाद्यान्न तथा खाद्यपदार्थको अनुगमन गर्दा उपभोक्ताले प्रस्ट देखिने गरी मूल्य सूची नराख्ने, मूल्य सूची अद्यावधिक नगर्ने, खाद्य र अखाद्य बस्तु एक स्थानमा राख्ने, म्याद गुज्रिएको, अखाद्य बस्तु मिसावट गरेको, मूल्य बढी लिएको, तौल कम भएको, भण्डारमा सरसफाइ नगरेको जस्ता गतिविधि भएको पाइएको छ। त्यसै गरी मासु, फलफूल तथा तरकारीजन्य पसलहरूको अनुगमन गर्दा सडे गलेको पदार्थ बेच्न राखेको, तौल कम भएको, फ्रिजिङ एवम् भण्डारण अव्यवस्थित भएको, सरसपाइमा ध्यान नदिएको र अधिकतम मूल्य भन्दा बढीमा बेचेको पाइएको छ ।
चालू आर्थिक बर्ष देखि महानगरले नयाँ र फरक ढंगबाट
बजार अनुगमन गर्ने निर्णय गरेको छ । जस अनुसार नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा रहेको उपभोक्ता हित सरक्षण समिति अन्तरगत विभिन्न ५ कार्यदल उप समितिहरु गठन गरि कार्य बाडफाड गरिएको छ । ती पाँच उपसमितिले सोमबार बाटै बजार अनुगमन फरक फरक समयमा फरक फरक तरिकाले गर्न शुरु गरिसकेका छन् । स्वास्थ्य सेवा,शिक्षा सेवा,कृषि,पशुपन्छी(माछामासु,भेटेनरी,एग्रोभेट,दुग्धजन्य),खाद्य उद्योग,खाद्य सामाग्री,उपभोग्य सामाग्री, होटल र निर्माण सामाग्री ( घर तथा नक्सा ) कार्यदल उप समितिहरु गठन गरिएको छ ।
बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

