चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले आज ६ घण्टा लोडसेडिङ गर्ने भएको छ । वितरण केन्द्र अन्तर्गत विभिन्न तीन वटा फिडरमा लोडसेडिङ हुनेगरी तालिका सार्वजनिक गरिएको छ । लोडसेडिङको तालिका सार्वजनिक गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन्।
केन्द्रले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएकाले लोडसेडिङ गरिएको बताएको छ । चनौली वितरण केन्द्रअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा २ समयमा ३र३ घण्टाका दरले लोडसेडिङको तालिका सार्वजनिक गरिएको हो। विद्युत् लाइन भरतपुर १३२÷३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको केन्द्रको सूचनामा उल्लेख छ।
केन्द्रकाअनुसार अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न गाह्रो भएको छ। यो समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको सूचनामा उल्लेख छ।
चनौली वितरण केन्द्रकाअनुसार आइतबार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत् काटिनेछ। मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म, जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् लाइन काटिनेछ।

