चितवन। भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।
भरतपुर महानगरपालिका–१५ सूर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र भट्टको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज खोजीमा खटिएको थियो।
त्यस क्रममा घटनास्थलको करीब २५ फिट गहिराइबाट उनको शव निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

