काठमाण्डौ । काठमाण्डौ महानगपालिकामा जग्गाको सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।
महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार जग्गाको मूल्य तोकिएको हो । महानगरपालिकाले सम्पत्ति कर मूल्याङकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो ।
काठमाण्डौमा सबैभन्दा महँगो आनाको ५० लाख रुपैयाँ पर्ने जग्गा दरबारमार्ग क्षेत्रको छ । माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल हल क्षेत्र, कान्तिपथ, जमललगातका क्षेत्रमा पनि जग्गाको मूल्य धेरै छ । त्यस्तै घण्टाघरदेखि कमलादी मोडसम्म, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकको दायाँबायाँको क्षेत्र रहेको छ ।
ठमेल–इन्द्रचोक क्षेत्र, केशरमहल गेटदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोक, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक–असन–भोटाहिटी चोक, असन चोकदेखि राष्ट्रिय नाचघर हुँदै तीनधारा पाठशालासम्म ५० लाख रुपैयाँ प्रतिआना पर्ने क्षेत्र रहेका छन ।
महेन्द्र सालिकदेखि काठमाण्डौ प्लाजा, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट–सुन्धारा चोक, सिंहदरबार पश्चिम गेटदेखि भद्रकालीसम्म, नयाँ सडक, पुरानो काठमाण्डौ महानगर भवन क्षेत्र, जुद्धशमशेर सालिकदेखि इन्द्रचोक,न्यूरोड पिपलबोट, आरबी कम्प्लेक्स, खिचापोखरी–धरहरा आसपासमा पनि जग्गाको सबैभन्दा उच्च मूल्य तोकिएको छ ।
पुतलीसडक,बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य भने ४० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ ।
त्यस्तै खिचापोखरीबाट दक्षिणतर्फको भुङ्ला मार्ग, गणबहाल र भोटेबहालको मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य ३६ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।
लैनचौर चोकदेखि, होटल र्याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्म मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य ३२ लाख रुपैयाँ प्रतिआना राखिएको छ ।
त्यस्तै चक्रपथ जोडिएका गोशालादेखि धोवीखोलासम्मका जग्गाको मूल्य ३० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ ।
सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना र सकैभन्दा कम पाँच लाख रुपैयाँसम्मको जग्गाको मूल्याङ्कन गरिएको महानगरपालिकाको आर्थिक ऐनमा उल्लेख छ । तर चलनचल्तीको मूल्य भने महानगरले तोकेको मूल्य भन्दा बढी रहेको पाइन्छ ।

