काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टीकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताउनु भएको छ ।
नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आइतबार शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टीकृत उपचार केन्द्रको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिनुभयो ।
मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरिटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातेमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गर्नुभएको छ ।

