काठमाडौं । वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ ।
दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो । यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।
दुई वर्षअघिको ‘लम्पी स्किन’ को सङ्क्रमणपछि जन्मिएका गाईका बाच्छाबाच्छीमा यो समस्या धेरै देखिएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा देवकुमार दर्लामीले जानकारी दिए । उनले ‘लम्पी स्किन’ देखिनेबित्तिकै हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सङ्घीय सरकारलाई जानकारी गराएको र स्थानीय तहसँग समन्वय गरेको बताए ।
एक वर्षअघि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन किसान र सरकारी संयन्त्रले ध्यान नदिँदा यस वर्ष धेरै फैलिएको उनले उल्लेख गरे । सङ्क्रमण देखिएपछि पशुको ओसारपसारमा निगरानी राखेको र सरसफाइमा ध्यान दिन र खोप लगाउने कार्यमा प्रोत्साहन गर्न मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारे । सङ्क्रमित पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन नमिल्ने र स्वस्थ पशुलाई मात्रै लगाउनुपर्ने भएकाले एकै पटक ठुलो सङ्ख्यामा खोप लगाउन आवश्यक रहेको उनले बताए ।
कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको उनले बताए । त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको छ ।
पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख सात वटा नै प्रदेशमा पठाएको जानकारी दिए । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । हालसम्म प्रदेशमा पठाएको कुल खोपमध्ये आधा खोप पनि पशुलाई लगाइएको छैन ।

