काठमाण्डाै । स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएका क्यान्सर रोगका दुर्लभ औषधि र स्वास्थ्य सामग्री चार वटा अस्पताललाई हस्तान्तरण भएको छ ।
क्यान्सरको उपचार हुने काठमाण्डौको वीर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण गरिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यी चार वटा अस्पतालमा क्यान्सरका बिरामीका लागि निःशुल्क रूपमा औषधि उपलब्ध हुने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो । डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा उहाँले औषधि अभावमा विदेशमा गएर महँगो खर्च गनुपर्ने बिरामीको बाध्यता हट्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो खेप नेपाल आइपुगेको हो । डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा औषधि नेपालको आवश्यकता अनुसार पाँच वर्षसम्म सहयोग स्वरूप उपलब्ध गराउन लागेकाे पनि स्वास्थ्य मन्त्रालयको सचिवालयले जनाएको छ ।

