चितवन । रत्ननगर नगरपालिका–७ स्थित पडेरिया पुल नजिक बुढिराप्ती नदीमा बेपत्ता भएका एक बालकको शव १५ घन्टापछि फेला परेको छ।
नगरपालिकाको नगरप्रहरी टोलीले शुक्रबार बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उक्त बालकको शव फेला पारेको हो।
पीडित बालक बिहीबार दिउँसो २ बजे बुढिराप्ती नदीमा हराएका थिए। बेपत्ता भएको झण्डै १५ घन्टापछि शव भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको सनाखत प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा खोजी कार्य तीव्र पारिएको थियो। नदीमा पानीको बहाव बढिरहेको हुँदा उद्धारमा कठिनाइ भए पनि अन्ततः शव फेला पारिएको नगरप्रहरी स्रोतले जनाएको छ।

