सिन्धुली। आफ्नै मामा-माइजुको हत्या गरेर फरार भएका एक आरोपीलाई सिन्धुली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।
दुधौली नगरपालिका-१३ का ४५ वर्षका रत्नबहादुर कार्की र उनकी पत्नी दुर्गामाया कार्कीको हत्या गरी फरार भएका केदारसिंह थापालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको हो।
थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी कार्की दम्पतीको हत्या गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो। थापा कार्की दम्पतीका आफ्नै भान्जा हुन्।
थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका-९ जलकुण्डीबाट पक्राउ गरेको हो। हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा यही असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
हत्यापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए।
मामा-भान्जाबीचको आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। थापा केही वर्ष विदेशमा बसेर आएका पाइएको एसपी सुवेदीले बताए।
प्रहरी अनुसन्धानको क्रममा मामा-भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको खुलेको छ। तर पछि मामाले जग्गा पास गर्न नमानेपछि उनले हत्या गरेको प्रहरीले जनाएको छ।
अभियुक्त थापालाई प्रहरीले बुधबार जिल्ला अदालत सिन्धुलीबाट पाँच दिन म्याद गरी थप अनुसन्धान अघि बढाएको छ।

