नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ट्रकसहित सडक भासिएपछि आज बिहान ५ बजेदेखि सवारी आवागमन अवरुद्ध भएको छ।
बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएर मालवाहक ट्रक बीचमै फसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले रेडियो नेपाललाई जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ भने जेसीबीको सहायताले ट्रक हटाउने प्रयास भइरहेको छ।
गएरातिको वर्षाका कारण सडक भासिनुका साथै ठाउँ–ठाउँमा चिप्लो र हिलाम्य भएको प्रहरीले जनाएको छ। वर्षायाममा दाउन्ने खण्ड अवरुद्ध हुँदा यात्रुहरू पटक–पटक अलपत्र पर्ने गरेका छन्।
नवलपुरतर्फ भने सवारी आवागमन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

