नवलपुर। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन्।
नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार पिकअप बलेरोमा चालक मात्रै रहेका थिए। चालक स्थानीय ४५ वर्षीय ओमनारायण महतो सामान्य घाइते भएका छन्। अन्य घाइतेमा स्कर्पियोमा सवार नौ जना रहेका छन्।
विनयी त्रिवेणी–२ का ३१ वर्षीय स्कर्पियो चालक रेशमबहादुर सारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णुबहादुर श्रेष्ठ, ८४ वर्षीया रूपामाया श्रेष्ठ, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५७ वर्षीया यनिसरा लामिछाने तथा ५२ वर्षीय कुलबहादुर कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए।
घाइतेमध्ये सात जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने यनिसरा लामिछाने र कुलबहादुर कुमाललाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

