चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला कार्यसमितिले पार्टीका संस्थापक सभापति रवि लामिछानेमाथि राज्यले गरेको कथित प्रतिशोधपूर्ण व्यवहारको विरोधमा देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। पार्टी स्थापना दिवस असार ७ गतेदेखि सुरु भएको यो अभियानमा देशभर दशौँ लाख हस्ताक्षर संकलन भइसकेको र चितवनमा यसको प्रभाव उल्लेखनीय रहेको कार्यसमितिले जनाएको छ।
जिल्ला कार्यसमितिका सभापति कृष्ण प्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, यो अभियानमा कुनै जबरजस्ती वा दबाब नदिई स्वेच्छिक र स्वस्फूर्त रूपमा युवादेखि वृद्धवृद्धासम्म सहभागी भएका छन्। पार्टीले कुनै भ्रष्टाचारी वा दलालबाट चन्दा वा नजराना नलिएको दाबी गर्दै यस्तो कुनै गतिविधिको प्रमाण पेश गर्न चुनौती दिएको छ।
विज्ञप्तिमा केही तत्वहरूले अभियानलाई बदनाम गर्न भ्रामक प्रचार गरेकोप्रति गम्भीर आपत्ति जनाइएको छ। हस्ताक्षर संकलनपछि बैंक खाता ह्याक भएको जस्ता दिग्भ्रमित पार्ने अभिव्यक्ति र हस्ताक्षरकर्तामाथि गालीगलौज तथा धम्कीपूर्ण व्यवहार भएको भन्दै पार्टीले यस्ता कार्यको घोर निन्दा र भत्सना गरेको छ। यस्ता गतिविधिलाई लिएर अनावश्यक टिप्पणी गर्नुभन्दा आफ्नो पार्टी सुदृढीकरणमा ध्यान दिन अन्य पक्षलाई सुझाव दिइएको छ।
रास्वपाले चितवनलाई पार्टीको केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा आम चितवनवासीको साथ रहने विश्वास व्यक्त गरेको छ। पार्टीले स्वविवेक प्रयोग गरी निर्धक्क रूपमा हस्ताक्षर अभियानमा सहभागी हुन आम नागरिकलाई हार्दिक अपिल गरेको छ। साथै, भ्रामक प्रचारबाट सतर्क रहन र अभियानप्रति आभार व्यक्त गर्दै समर्थकहरूलाई धन्यवाद दिएको छ।
यो अभियान चितवनसहित देशभर जारी रहेको र पार्टीले यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।


