चितवन। चितवनका सुनचाँदी पसल चारदिनदेखि अनिश्चितकालिन बन्द गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले चितवन जिल्लामा रहेका पाँच सय बढी सुनचाँदी पसलहरु शुक्रबारबाट बन्द गरेका हुन् ।
सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध गर्दै पसल बन्द गरिएको अध्यक्ष हेम बहादुर विश्वकर्माले बताउनुभयो ।
नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग सुनचाँदी व्यवसायीहरूको रहेको छ ।
त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने संघका महासचिव गोपाल बहादुर वि.क थापाले बताउनुभयो । उहाँले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्वारा संयुक्त रूपमा घोषणा भएको अनिश्चितकालिन बन्द कार्यक्रम अनुसार चितवनमा पनि असार १३ गते शुक्रबार देखि सुनचाँदी पसलहरु बन्द गरिएको जानकारी दिनुभयो।
सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण देशैभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित रहेका छन् ।

