बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा पश्चिम नवलपरासीका व्यवसायी सौरभ यादवसहित चार जनाविरुद्ध करिब ७ करोड रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत दायर उक्त मुद्दा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दर्ता गरिएको हो। विभागले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, क्रेता कम्पनी आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मा, साथै हिक्मतप्रसाद आचार्य र विनोद थापालाई प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो।
बुटवलस्थित कार्यालयका प्रमुख विवेक घिमिरेले दिएको जानकारी अनुसार, नवज्योती ट्रेडर्सले ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको पाइएको हो । विभागका अनुसार, यादवको हकमा मूल्य अभिवृद्धि कर र भन्सार चोरी गरी ल्याइएको बस्तुको आधारमा रु ३ करोड ४६ लाख ६२ हजार ७५३ रुपैयाँ २३ पैसा बराबरको बिगो कायम गरिएको छ।
सो बिगो असुलीका साथै शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरिएको छ। त्यस्तै, चिनी खरिदमा संलग्न रहेका पुष्पा शर्मामाथि रु ११ लाख ७१ हजार ५०० रुपैयाँ बराबरको भन्सार छली गरेको आरोप लगाइएको छ। उनलाई पनि बिगो जफत गरी जरिवाना र हदैसम्मको कैद सजाय दिन माग गरिएको छ। मुद्दामाका अन्य दुई प्रतिवादीमध्ये हिक्मतप्रसाद आचार्यले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले आधा सजाय माग गरिएको छ भने, विनोद थापालाई राजस्व चुहावटको कसुरमा संलग्न रहेको भन्दै उनीसँग पनि जरिवाना र कारबाही माग गरिएको छ।

