बागलुङ । जैमिनी नगरपालीकाले तीन वर्षदेखि चर्चामा मात्रै सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ । सत्रौं नगरसभा तथा आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गरेका छन् ।
बाँदरकै कारण किसानले बस्ती छाडेर हिँंडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ । वन ऐन, वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ । बाँदरलाई संघ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।
किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दुग्धजन्य परिकारलाई मूल्य शृङ्खलामा जोडेर बन्द रहेका फार्म पनि सञ्चालनमा प्रोत्साहन गरिने भएको हो । त्यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो ।
कृषि क्षेत्रमा आर्कषण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाइ सूचीकरण गरेर परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाइने नररप्रमुखको नीतिमा उल्लेख छ । सेरा जाऔँ केरा खाऔँको निरन्तरतासहित सुन्तला पकेट, बाख्रा जोनलगायत कार्यक्रम सञ्चालन गर्ने पनि नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनको भनाइ छ ।

