चितवन । चितवनको राप्ती नगरपालिकामा हिजो (शनिबार) भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ । आज लमजुङ जिल्ला बेसीसहर-३ घर भई हाल भरतपुर-६ चोक बजार बस्ने पूर्णकुमारी खड्काको सनाखत भएपछि ७ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।
मृतक ६ जनाको भने शनिबार नै सनाखत भएको थियो । दुर्घटनामा रेनुका, सरोज, मैयाँकुमारीसहित मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङको मृत्यु भएको डिएसपी खनालले बताए।
राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको भ्यान ठोक्किएका थिए। दुर्घटनामा २४ जना घाइते भएका थिए । उनिहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

