नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।
निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाइभर्सन सडक बर्षाले बारम्बार बगाइरहेकोले नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।
दाउन्ने खण्डको केही स्थानहरूमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ ।
आयोजनाले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । वैकल्पिक सडक प्रयोग गर्नु प्रशासनले आग्रह गरेको छ ।


