नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल सडक खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो ।
उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भन्नुभयो, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।”
एकतीस वर्षीय शिवनारायण थारु काठमाडौँबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फस्नुभएको थियो । उहाँ बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाउनुभयो । “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,” शिवनारायणले भन्नुभयो ।
सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् ।
यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रवार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिनुभयो ।
प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताउनुभयो ।
“स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”
विसं २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ ।
सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ ।

