चितवन । रत्ननगर नगरपालिकाका तीन वटा वडालाई सोमबार अनिबार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको छ । रत्ननगर वडा नं ५,६र ७ लाई सयुक्त रुपमा अनिबार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । आज सौराहामा आयोजित कार्यक्रममा मेयर प्रलाद सापकोटाले अनिबार्य तथा निःशुल्क शिक्षा घोषणा गरेका हुन् ।
तीन वटा वडामा ४ बर्ष देखि १३ बर्ष उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्ति गरी तीन वटा वडालाई सयुक्त रुपमा अनिबार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको नगर शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् ।
अनिबार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नुपूर्व गरिएको घरधुरी सर्वेक्षणका क्रममा वडा नं ७ की उर्मिला माझीलाई विद्यालय भर्ना गरिएको छ । घोषणा सभामा मालपुर माविमा भर्ना भएकी माझीलाई स्कुल पोसाक सहित एक बर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
सो अबसरमा मेयर सापकोटाले उर्मिला माझी एसईई पास भएपछि रत्ननगर नगरपालिकाले उच्च शिक्षा पढ्न लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता जनाए । आर्थिक अभावका कारण काही पनि शिक्षाबाट बन्चित हुनु पर्दैन उनले भने उर्मिला माझी र उनीजस्तै पढाई छाडेकालाई स्थानीय सरकारले शिक्षा दिलाउने छ । उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएको भन्दै आत्मर्निभरताको लागि उद्यमशिलता विकास र पर्यटन मार्फत आर्थिक विकासमा नगरपालिका अग्रसर रहेको बताए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले संविधानले कक्षा १२ सम्म शिक्षालाई निःशुल्क गरेको भन्दै शिशुदेखि कक्षा ८ सम्म कुनै प्रकारको शुल्क नलिने गरी अनिबार्य तथा निःशुल्क शिक्षा लागु गरिएको बताए । कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चिताका लागि अनिबार्य शिक्षा र शुल्क तिर्न नपर्ने गरी निःशुल्क भनिएको उनको भनाई छ ।
वडा नं ६ का वडाध्यक्ष किरण महताले सरकारले शिक्षामा लगानी बढाउदै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले अनिबार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि स्थानीय सरकार, शिक्षक, विद्यार्थी र अभिभावक जिम्मेवार हुन जरुरी रहेको बताए ।
वडा नं ७ का वडाध्यक्ष सजना महतोले आर्थिक अबस्था कमजोर भएका परिवारका बालबालिकाको शिक्षाको लागि वडा कार्यालयले लगानी गर्ने बताए ।
कार्यक्रममा बछौली माविका शिक्षक शिवराम मरहठ्ठा,सृजनसिल सिकाई केन्द्रका अध्यक्ष मीनप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।


