चितवन। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा सम्पन्न रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् ।
रक्तदानमा सहभागिताका लागि चितवन र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेका छन् ।

रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्बाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको छ ।
अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारी सञ्चालित सो कार्यक्रममा उल्लेख्य संख्यामा नयाँ रक्तदाताहरुको सहभागिता रहेको थियो । त्यस्तै महिला रक्तदाताहरुको संख्या समेत उच्च रहेको थियो । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण र प्रभातफेरि एवं पुरस्कार तथा सम्मान वितरण समेत भएको थियो ।


