चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समितिले माडी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेटमा समेट्नुपर्ने दर्जनौं सुझावहरु ज्ञापनपत्रका रुपमा पेश गरेको छ ।आइतबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोसमक्ष नगर ईञ्चार्ज गिरीधारी सुवेदी र नगर अध्यक्ष भरत तिमिल्सिना सहित माओवादी केन्द्र माडीका नेताहरुले सो ज्ञापनपत्र पेश गर्नुभएको हो ।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०८१/८२* को लेखा परीक्षण प्रतिवेदनमा देखिने बेरुजु रकम असुल उपर हुनुपर्ने माग गर्दै हाल चालू योजनाहरूमा देखिएको अनियमितता, ढिलासुस्ती तथा बेथितीप्रति गम्भीर चासो व्यक्त गरिएको छ ।त्यसैगरी ज्ञापन पत्रमा कृषि क्षेत्रमा बजेटको ७% छुट्याउनुपर्ने, ‘सेतो माडी कार्यक्रम’लाई प्रभावकारी बनाउन पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, सतही सिँचाइ प्रणाली सुदृढ गर्न कुलो लाइनिङमा विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ ।
यसबाहेक, शिक्षा क्षेत्रमा आवश्यक मात्रामा बजेट विनियोजन गर्नुपर्ने, शिक्षक नियुक्ति पारदर्शी हुनुपर्ने, विद्यालय अनुगमन बढाउनुपर्ने, बिषयगत शिक्षक व्यवस्थापन गर्नुपर्ने र माडी क्याम्पसलाई आंगिक क्याम्पसका बनाउन पहल गर्नुपर्ने उल्लेख छ ।
यसैगरी, स्वास्थ्यतर्फ बघौंडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नती भइसकेकाले त्यसको कानुनी र व्यवस्थापन पक्ष टुंग्याउनुपर्ने तथा स्वास्थ्यका करार कर्मचारीहरुलाई नेपाल सरकारको स्केल अनुसार तलब भत्ता दिनुपर्ने माग गरिएको छ ।
यसबाहेक, हनुमानझुला क्षेत्रमा होमस्टे सञ्चालनका लागि योजना छनौट गरी बजेट छुट्याउनुपर्ने तथा हाल सञ्चालनमा रहेका होमस्टेहरुको सेवा प्रभावकारी बनाउन बजेट विनियोजन गर्नुपर्ने र माडीका सबैजसो पर्यटकीय स्थलका लागि बजेट दिनुपर्ने सुझाव दिइएको ।
यस्तै, बिपन्न परिवारका लागि आवास निर्माणको निरन्तरता, वातावरण संरक्षण, मानव बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण, रेवा नदी तटबन्धन एवं भूमिहीन र अव्यवस्थित किसानहरुको लालपूर्जा सम्बन्धी समस्या हल हुनुपर्ने समेत माग रहेको छ ।

