चितवन । रत्ननगर नगरपालिका वडा नं ६ ओद्रा टोलमा सुकुमबासी परिवारका लागि घर निर्माण गर्दा भएको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्ट, रत्ननगर नगरपालिका र घरधनीहरुको सयुक्त लगानीमा सात वटा घर निर्माण गरिएको छ । सोमबार बस्तीमै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी घर निर्माण गर्दा भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । सपना भिलेजका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आम्दानी खर्च सार्वजनिक गर्दै इम्प्याक्टका वित्त अधिकृत सुदन ओलीले इम्प्याक्टका ३३ लाख २७ हजार,रत्ननगर नगरपालिकाको १० लाख ५० हजार र सम्बन्धित घरधनीको १० लाख ५० हजार गरी ५४ लाख २७ हजार रुपैयामा सातवटा घर निर्माण गरिएको जानकारी दिए ।
सात सुकुमबासी परिवारको लागि दोस्रो तलामा चोटा सहित भूइतलामा दुई वटा कोठा र एउटा सामान्य हल सहितको पक्की घर निर्माण गरिएको हो । एउटा घर निर्माण गर्दा सात लाख ७५ हजार रुपैष्या खर्च भएको वित्त अधिकृत ओलीले जानकारी दिए । सपना भिलेजका धु्रव गिरीले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहामा रहेका सुकुमबासी समुदायको अबस्था दयनीय रहेको देखेपछि स्थानीय सरकारसंग सहकार्य गरी सात परिवारको लागि घर निर्माण गरेको बताए ।
सौराहाको काँखमा अभाव झेलिरहेका परिवार रहेको देख्न सकिन उनले भने सुरुमा दुःख पाएका सात परिवारलाई घर बनायौं । उनले ओद्रामा निर्माण गरिएको सात सहित रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेजले घर निर्माण गरिसकेको जानकारी दिए । जंगलको सिमानामा बस्ने परिवारलाई सुधारिएको चुलो, विपन्नलाई घर, बालवालिकालाई पौष्टिक आहार, चेपाङ समुदायलाई जीविकोपार्जनको आधार निर्माण गर्न आयआर्जनका कार्यक्रम तथा युवाहरुलाई सीप विकासको काम सपना भिलेजले गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ की कार्यबहाक वडाध्यक्ष तथा कार्यपालिका सदस्य बविता चौधरीले ओद्राका सुकुमबासी परिवारका लागि स्थानीय सरकारको सहकार्यमा सपना भिलेजे आवास निर्माण गरेर ठुलो काम गरेको बताइन् । क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालले आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएका सुकुमबासी परिवारका लागि घर बन्नु उदाहरणीय काम भएको बताए । सौराहाका पर्यटन व्यवसायी गोकर्ण गिरीले दयनीय अबस्थामा रहेको बस्तीको सातवटा घर बनेपछि मुहार फेरिएको बताए । जंगली जनावर र बाढीको चेपेटामा परेको परिवारलाई सपना भिलेजले सुरक्षित गर्ने काम गरेको उनको भनाई छ ।
बस्तीकी इन्दिरा अधिकारीले शौचालय नभएर समस्या झेल्दै आएको भन्दै सपना भिलेजले शौचालय सहित पक्की घर निर्माण गरिदिएर ठुलो गुन लगाएको बताइन् । पहिला शौचालय पनि थिएन, सपना भिलेनले त्यो पनि बनाइदियो उनले भनिन् अहिले त पक्की घर नै बनाइदिनु भयो । खरले छाएको, खडाईले बारेको घरमा बस्दा सर्पले टोक्छ की भन्ने डर थियो उनले भनिन् सर्प र बाढीको जोखिमबाट बच्न दुई तले घर बस्ने सपना पुरा छ ।
कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका परिषद् सदस्य सुदन महतोले सुकुमबासी बस्ती विकासमा वनले सहयोग गर्ने प्रतिबद्धता जनाए । सपना भिलेज सोसल इम्प्याक्टकी अनुगमन तथा मुल्याङ्कन अधिकृत राममाया श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रम निर्देशक सावित्री पुरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

