चितवन । उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक गोविन्द पुरीलाई संघमा स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी दिँदै विगत लामो समयदेखि उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको स्मरण गराउँदै आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष श्रेष्ठले पर्यटनलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्न सकिएमा आर्थिक चलायमान हुने बताउँदै पर्यटकीय सुरक्षाका लागि अनुरोध गरे । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै चितवन बसाइको पूर्ण सफलताको कामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमनचयनमा कुनै कसर नराख्ने बताउँदै उनले शान्ति सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले संघले आर्थिक, सामाजिक, औद्योगिक र व्यावसायिक विकासमा खेलेको भूमिकाको बारेमा बताउँदै पार्किङ व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउनेतर्फ ध्यान दिन अनुरोध गर्दै पार्कि ङ व्यवस्थापनमा उद्योग वाणिज्य संघ–चितवन पनि सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा संघका उपध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।


